अमेरिकन आइडलमा नेपालका दिवेश पोखरेल (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, ५ फागुन : अमेरिकन आइडलको मञ्चमा अडिसन दिन नेपालका २१ वर्षीय दिवेश पोखरेल पुगेका छन् ।

काठमाडौंमा जन्मिएका दिवेश स्टेज नाम आर्थर गनको रुपमा परिचित छन् । उनले अडिसन अघि दिइएको परिचयमा नेपालमा हुर्कन पाउनु निकै प्रिय बताएका छन् । उनले उक्त भिडियोमा नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् ।

उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’ सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन् ।

आफ्नी आमामार्फत् पहिलो गितार पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले बताए। नेपालमा प्लस टु पास गरेर अमेरिका पुगेका उनी अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् ।

अमेरिकामा पुगेपछि उनले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको बताए । अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ बताएका छन् ।

अडिसन अघि कस्तो महसुस भइरहेको छ भनेर प्रश्न सोध्दा उनले हाँस्दै भनेका छन्, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु ।’

उनको प्रस्तुतीमा तीनै जना निर्णायकहरु खुसी छन् । गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका थिए। लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिएका छन् । केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन् ।

प्रतिक्रिया