आलम बयान दिन अदालतमा उपस्थित !

मनिषा थापा

रौतहट : १२ वर्ष अघि बम विस्फोटमा परी घाइते भएकाहरलाई जिउँदै इट्टाभट्टामा हालेर जलाएको आरोप लागेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई बयान दिन जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ । उनीविरुद्ध अदालतमा सर्वस्वसहित जन्मकैदको मागदावीसहित सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

आलमविरुद्ध सोमबार अदालतमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आजदेखि उनको बयान हुनेछ । आज अदालतमा पेश गरिएको मिसिलको नक्कलप्रति आलमको पक्ष–विपक्षमा बहस गर्ने वकिलहरुलाई वितरण गर्ने र आलमसँग बयान लिने काम हुने छ । प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्टसहितको मिसिल आठ सय पृष्ठको छ ।

आलमको पक्ष–विपक्षमा बहस गर्ने वकिलहरुले सो मिसिल अध्ययन गरिसकेपछि अदालतमा थुनछेक बहस सुरु हुनेछ । मिसिल धेरै पृष्ठको भएकाले अध्ययन गर्न समय लाग्ने हुँदा थुनछेक बहस सुरु हुन पनि केही दिन लाग्ने अनुमान छ ।

पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा. युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया