उन्नाइस हजारको स्वास्थ्य बीमा

admin

बाजुरा, ७ पुस : जिल्लामा गएको चैत महीनादेखि सञ्चालन भएको स्वास्थ्य बीमा गर्नको उत्साह बढ्दै गएको पाइएको छ । सामाजिक सुरक्षा विकास समितिले विसं २०७४ चैतदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म १९ हजार ६०९ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको बाजुरा बीमा दर्ता अधिकारी तारा रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकामा बीमा गर्नेको सङ्ख्या गरेको बताउनुभयो । नगरपालिकामा चार हजार बढीले स्वास्थ्य बीमा गराएको रोकायाले राससलाई जानकारी दिनुभयो । स्वास्थ्य बीमा असार मसान्तसम्म छ हजार १८२ जना नागरिकले स्वास्थ्य बीमा गराएका हुन् भने साउनदेखि यही पुस ५ गतेसम्म १३ हजार ५०८ जना नयाँ स्वाथ्य बीमा गर्ने नागरिक थपिएको दर्ता अधिकारी रोकायाको भनाइ छ ।

जिल्लामा आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गर्न थालेका छन् । जिल्ला अस्पताल बाजुरामा अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने दैनिकरुपमा बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले बीमा गराएका बीमितकर्ता उपचार गर्न प्रतिदिन १५ देखि २० जनाको हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

कार्यालय प्रमुख विश्वकर्माले कोल्टीमा स्वास्थ्य केन्द्रको आफ्नै फार्मेसी नहुँदा स्वास्थ्य बीमालाई सेवा प्रभावकारीरुपमा दिन नसकेको स्वीकार गर्नुभयो । निःशुल्करुपमा पाइने वीमितकर्ताका लागि औषधि नहँुदा मार्तडीमा आएर उपचार गराउन बाध्य भएको डा विश्वकर्माको भनाइ छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क हुने नीति छ ।

जिल्लामा शुरुआत भएको स्वास्थ्य बीमामा अति गरीब र मध्यम गरीबले नै सबैभन्दा बीमा गरेको पाइएको छ । बीमामा आबद्ध भएका दुई हजार ७९३ परिवारमध्ये १५ हजार ९९४ नागरिकले बीमा गरेका छन् भने आर्थिक भएका अर्थात् मध्यम खालका ७३० परिवारमध्ये तीन हजार ६९६ सदस्यले बीमा गराएको बाजुरा बीमा दर्ता अधिकारी तारा रोकायाले बताउनुभयो । स्वास्थ्य बीमा गरेपछि बहिरङ, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घर घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ ।
-रासस

प्रतिक्रिया