एनसेलको फैसला अध्ययन गर्न प्रस्ताव राख्ने कांग्रेसका सांसद सरुवा !

मनिषा थापा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमलाई एक हप्ता पुग्न नपाउँदै कानुन न्याय तथा मानव अधिकार समितिबाट हटाइएको छ।

समितिको अघिल्लो बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सर्बोच्चको फैसला अध्ययन गर्नुपर्ने प्रस्ताव राखेका थिए । गौतमको प्रस्ताव अनुसारनै समितिले सर्बोच्चको भदौ ८ को फैसलाले राज्यलाई अर्बौ राजश्व घाटा भएको भन्दै विज्ञहरुसँगको राय लिएर फैसला अध्ययन गर्ने निर्णय गरेको थियो ।

उनीसँगै अरु केही सांसदहरुको पनि समितिमा हेरफेर भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले गौतमसहित कांग्रेसका केही सांसदको समिति हेरफेर सम्बन्धी सूचना पढेर सुनाएकी हुन् ।

आफु सरुवा भए पनि कानुन समितिमा एनसेलको लाभकर सम्बन्धी सर्बोच्च अदालतको फैसला अध्ययन गर्नु पर्ने आफ्नो अडान यथावत रहेको उनले बताए।

गौतमलाई विकास तथा प्रविधि समितिमा शरुवा गरेको छ । उनको ठाउँमा कांग्रेस सभापति शेरबहादुर देउवा विकास समितिबाट कानुन समितिमा आएका छन् ।

त्यस्तै, कांग्रेसकै अर्का सांसद देवप्रसाद तिमल्सिनालाई पनि कानुन समितिबाट कृषि समितिमा पठाइएको छ ।उनको ठाउँमा कृषि समितिका स्मृतिनारायण चौधरीलाई ल्याइएको छ भने महिन्द्राकुमारी लिम्बुलाई पनि कानुन समितिबाट हटाएर कर्मा घलेलाई ल्याइएको छ।

प्रतिक्रिया