ओबामा केयर कार्यक्रम विरुद्ध परेको मुद्दा सर्वोच्चद्वारा अस्वीकृत

admin

एजेन्सी, ४ असार : अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सेवा नीतिमा परिवर्तनको माग गर्दै दिइएका रिटहरुलाई खारेज गरेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका टेक्सुसहित १८ वटा राज्यहरूले त्यस कानुनमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला गरेको छ । ओबामा केयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो । कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बीमासम्मको पहुँच उपलब्ध गराउँछ ।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले त्यस कानुन खारेज गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेका भए पनि विफल भएका थिए ।

यही महिनाको सुरुमा ह्वाइटहाउसले ओबामा केयरमार्फत तीन करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो । सदनबाट पनि त्यस कानुन खारेज गर्ने प्रयास विफल भएकोले अब ओबामा केयरको भविष्य सुनिश्चित देखिएको बीबीसीले जनाएको छ । अदालतको फैसलापछि राष्ट्रपति जो बाइडनले कानुनबाट लाभ पाएकाहरूका लागि महत्त्वपूर्ण विजय भएको बताए ।

प्रतिक्रिया