काभ्रे आइसोलेसनमा राखिएका १७ जनाको रिपोर्ट नेगेटिभ

admin

काभ्रे, २५ चैत : काभ्रेमा कोरोना भाइरस परीक्षण गरिएका १७ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोरोना भाइरससँग मेलखाने लक्षण देखिएका कारण आइसोलेसनमा राखिएका उनीहरुको सोमबार धुलिखेल अस्पतालमा ‘स्वाब’ परीक्षण गरिएको थियो ।

अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । ‘पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ’, उनले भने ।

उनका अनुसार अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाको नाम, वतन भने गोप्य राखिएको छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि २० लाख रुपैयाँ उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण सुरु गरेको हो ।

पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशङ्कामा काभ्रेपलाञ्चोकमा विदेशबाट आएका एकलाई मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टीनमा राखिएको छ ।

‘विदेशबाट घर फर्किएर मण्डनदेउपुर नगरपालिकाको क्वरेन्टीनमा बसेका आठमध्ये हाल एक बाँकी हुनुहुन्छ, अन्यलाई स्वास्थ्य परीक्षण गरी कुनै लक्षण नदेखिएकाले होम क्वरेन्टीनमै पठाइयो, उहाँहरुको निगरानी भइरहेको छ’, झाले भने ।

पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती नपा-१२ कोलाँती मगरगाउँको ४८ वर्षीया मधुमाया तामाङको उपचारका क्रममा ज्यान गएपछि कोरोना भाइरस आशङ्कामा एकै गाउँका एक बालकसहित १० जनालाई क्वरेन्टीनमा राखिएको थियो ।

कोरोना परीक्षण गरिएकामध्ये उनीहरु पनि हुन् । उनीहरुलाई सोमबार साँझ घर पठाइएको छ । तामाङको एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताए ।

यसैबीच काभ्रेपलाञ्चोकका १३ पालिकाले क्वरेन्टीन व्यवस्थित गरेका छन् । कार्यालयका अनुसार छ नगरपालिका र सात गाउँपालिकामा ३२१ शैय्याका क्वरेन्टीन व्यवस्थित भएका हुन् ।

जसअनुसार बनेपा नपामा ६५, धुलिखेलमा ६०, पनौतीमा २० र मण्डनमा २०, पाँचखाल १०, नमोबुद्ध नपामा १८ तथा खानीखोला गाउँपालिकामा १५, तेमालमा पाँच, चौँरीदेउरालीमा पाँच, बेथानचोकमा आठ, रोशीमा १०, महाभारतमा ६५ र भुम्लु गाउँपालिकामा २० शय्याका क्वरेन्टीन व्यवस्थित गरिएका हुन् ।

प्रतिक्रिया