आज यी चार देशबाट नेपाली स्वदेश फर्कंदै

admin

काठमाडौं, ३ असार : बुधबार कुवेत, बंगलादेशको ढाका, थाइल्याण्ड र सिंगापुरबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।

कुवेतबाट जजिरा एअरमार्फत १६८ जना, बंगलादेशको ढाकाबाट २ सय जना, बैंङ्ककबाट २५० जना स्वदेश फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

उनका अनुसार सिंगापुरबाट कति नेपाली फर्कन्छन् भन्ने विवरण आइसकेको छैन । कुवेतबाट १६८ जना लिएर जजिरा एअर दिउँसोको २ बजेसम्म आइपुग्ने छ भने ढाकाबाट पनि हिमालय एअरलाइन्स दिउँसो १ देखि २ बजेसम्ममा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

बैंङ्ककबाट पनि २५० नेपाली लिएर नेपाल एअरलाइन्स राति आइपुग्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए । सिंगापुरबाट भने कतिबेला जहाज आइपूग्छ भन्ने यकिन भएको छैन । हिमालय एअर केही समयअघि उडेको छ ।

सरकारले विभिन्न ३० देशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने गरी चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । कुवेतबाट भने त्यहाँ आममाफी सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले नेपालसम्म निःशुल्क ल्याइदिएको हो ।

प्रतिक्रिया