कृषि उद्यमबाट नै मुलुकमा समृद्धि आउँछ : मुख्यमन्त्री पौडेल

राष्ट्रिय समाचार समिति

हेटौँडा, १४ भदौ:  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका विभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाटै हुन्छ ।”

मुख्यमन्त्री पौडेलले कृषि र पशुपालनसँगसँगै लैजाने नीति प्रदेश सरकारको रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने प्रदेश सरकारको नीति रहेको बताउँदै उहाँले एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढाइने जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि विभिन्न स्थानमा बृहत कृषि बजार स्थापना गरिने उल्लेख गर्दै सरकारको मूल अभियान नै कृषि क्रान्ति गर्ने भएकाले सबै जनता कृषिमा जोडिनुपर्ने बताउनुभयो । माटो परीक्षणलगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक–एक माटो जाँच केन्द्रको स्थापना गरिने उल्लेख गर्दै उहाँले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार नै खेती गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया