कोरोनाबाट विदेशमा थप ३ नेपालीको ज्यान गयो

admin

काठमाडौं, २६ पुस : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघकाअनुसार यो साता युकेमा २ जना र मलेसिया १ जनाको ज्यान गएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यसैबीच एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोभिड-१९ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको पनि गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाडौंबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडा श्वरुप आर्थिक सहयोग समेत गरेको छ ।

प्रतिक्रिया