कोरोनाभाइरसको सङ्क्रमण संख्या घट्यो

admin

बीबीसी, ४ फागुन : चीनले लगातार तेस्रो दिन कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या घटेको बताएको छ। आइतबार चीनमा २,००९ जना नयाँ बिरामी र थप १४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

यो हप्ताको सुरुमा नयाँ बिरामी गन्ने तरिकामा परिवर्तन गरिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि त्यस यता लगातार घटेको हो। अहिलेसम्म कूल ६८,००० लाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ।

चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५०० जनालाई सङ्क्रमण भएको छ। फ्रान्स, हङ्‍कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको छ। नयाँ तथ्याङ्क आउनुभन्दा पहिले चिनियाँ विदेशमन्त्री वाङ यीले यो प्रकोप नियन्त्रण गर्न सकिने बताएका थिए।

कोरोनाभाइरससम्बन्धी अन्य नयाँ विवरणहरू यसप्रकार छन् :

  • जापानमा क्वारन्टीनमा राखिएको क्रुज जहाजमा सङ्क्रमितहरूको सङ्‍ख्या ३५५ पुगेको छ। डायमन्ड प्रिन्स नामको सो जहाज चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमण भएको स्थान बनेको छ। अमेरिका र जापानले त्यहाँ भएका आफ्ना नागरिकहरूको उद्धार गर्न विमान पठाउने बताएका छन्।
  • चीनको केन्द्रिय ब्याङ्कले नोटहरूबाट भाइरस सर्नबाट रोक्न ब्याङ्क भित्रिएका नोटलाई सफा गरेर मात्रै बाहिर पठाउने बताएको छ।
  • शनिबार एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो।
  • क्याम्बोडियामा एउटा पानीजहाजबाट झरेर विमानमा मलेसिया जान लागेकी एक ८३-वर्षीया अमेरिकी महिलालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। जहाजका अन्य यात्रुलाई परीक्षणका लागि रोकिएको छ।
  • यूकेमा कोरोनाभाइरसका सङ्क्रमण भएका नौमध्ये आठ जना अस्पतालबाट घर फर्केका छन्।

प्रतिक्रिया