कोरोना परीक्षणका लागि तोकेभन्दा बढी शुल्क लिने प्रयोगशालासँग छलफल

admin

काठमाडौं, ११ असोज : कोरोना परीक्षणको लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशालासँग सरकारले आइतबार छलफल गर्दैछ ।

दिउँसो १ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशालासँग छलफल गर्न लागेको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

सरकारले भदौ २८ गते पीसीआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार रुपैयाँ कायम गरेको छ । तर, धेरै निजी प्रयोगशालाले भदौ १५ मा तोकिएअनुसार नै ४ हजारदेखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका गुनासो आएपछि छलफल गर्न लागेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार सचिवस्तरीय बैठकले शुक्रबार बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्म कारबाही हुने निर्णय गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गृह-मन्त्रालयलाई जानकारी दिएको छ ।

निषेधाज्ञा हटेसँगै काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ । कार्यालय र घरबेटीले कोरोनाको नेगेटिभ रिपोर्ट खोजेपछि परीक्षण गराउनेको संख्या निकै बढेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शुक्रबारदेखि नै २ हजार रुपैयाँमा पीसीआर गराउन निर्देशन दिँदै सूचना पनि निकालेको छ । तर, थोरैले मात्र सरकारले तोकेको शुल्कमा परीक्षण गराइरहेका पाइएको छ ।

अब पनि बढी शुल्क लिए अनुमति खारेज गर्नेसम्मको चेतावनी प्रयोगशालाले दिइएको छ । सरकारले निजी र सरकारी गरी देशभरका ३६ वटा प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको छ ।

प्रतिक्रिया