क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई पुनः स्वास्थ्य परीक्षण गरी घर पठाउने तयारी

admin

काठमाडौं, १६ फागुन : भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको शनिबार दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने भएको छ ।

गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेको भोलि १४ दिन पुग्दैछ । यसअघि गएको ४ गते नै उनीहरुको रगत र र्‍यालको परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले शनिबार फेरि परीक्षण गर्ने भएको हो ।

नमूना संकलन गरिएको तीन दिनपछि रिपोर्ट आउनेछ । रिपोर्टमा कोरोना नभएको पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका सबैजनालाई घर पठाउने सरकारको तयारी छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।

व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहानबाट ल्याएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे शनिबार फेरि जाँच गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया