ज्यानमारा बन्न थाल्यो ऋण

तुलसी नेपाल

काठमाण्डौ –  भक्तपुरमा एकै परिवारका तीनजनाको रहस्यमयी मृत्युको हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ । मृतक सुदीप अधिकारीले रोजगारी गुमाएका र ऋणमा डुबेको खुलेको छ ।

कृषि विकास बैंक र ससुरालीबाट गरी २५ लाख ऋण लिएका सुदीप तनावमा थिए । घरझगडा परिरहन्थ्यो । यही तोडमा उनले पत्नी सम्झना अधिकारी र छोरा सुशास्त अधिकारीको हत्या पछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

भक्तपुर जस्तै गत वर्ष त्रीशुलीको भेलमा एकै परिवारका चारजना हामफालेका थिए । २ माघमा धादिङ र गोरखा जोड्ने बेनिघाटको पुलमा भएको घटनामा चन्द्रागिरी नगरपालिकाका विनय लामिछाने कमोडिटी बिजनेशमा रकम डुबाउन पुगेका थिए । ऋण थेग्न नसकेपछि उनले पत्नीसहित आत्महत्या गर्ने योजना बनाएका थिए ।

विनय र पत्नी जमुना रेग्मीले दुई छोरालाई समातेर धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट हामफालेका थिए । गोरखा ससुरालीबाट फर्कदै गर्दा त्रीशुलीको भेलमा फाल हालेकामध्ये विनय बचेका थिए । पत्नी र दुई छोरा भने बचेनन् । यसरी ऋणमा डुबेका विनयले दुई छोरा र पत्नीको ज्यान लिए ।

पछिल्लो समय ऋण नै ज्यानमारा बन्न थालेको छ । अति महत्वाकांक्षी हुँदा क्षमताभन्दा बढी ऋण लिनेहरु बढेका छन् । गलत ठाउँमा लगानी गर्दा रकम डुब्ने गरेकोले धेरैको घरबास उठिबास लागेको छ । जसका कारण आत्महत्या देखि परिवार नै सखाप पार्नेहरु समेत भेटिएका छन् । विनय लामिछानेले पत्नी र दुई छोरालाई त्रीशुलीमा बगाएर आफूले पनि आत्महत्या गर्न खोज्नुको कारण दुई करोड ऋण थियो । जुन उनले मिटर ब्याजीसँग लिएका थिए । ती व्यक्तिहरुको नाम समेत सुसाइड नोटमा उल्लेख थियो ।

२०७४ सालको कात्तिक महिनाको पहिलो हप्ता कैलालीको गोदावरी नगरपालिकाका विश्वेश्वर जोशीले छोरा अरल जोशीको समेत हत्या गरी आत्महत्या गरेका थिए । उनले सुसाइड नोटमा आफूले आठ वर्षीय छोराको हत्या गरी आत्महत्या गरेको उल्लेख गरेका थिए । सुसाइड नोटमा उनले धेरै ऋण लागेको लेखेका थिए ।

विगतमा ऋणमा डुबेर प्रहरी अधिकृतहरुले समेत आत्महत्या गरेको घटना छ । ऋणकै कारण तत्कालिन प्रहरी अधिकृत कञ्चन थापाले एक दशकअघि आत्महत्या गरेका थिए ।

बैंकबाट ऋण लिनेहरुले कागजपत्र मिलाउने तर अन्य ठाउँमा लगानी गरेर डुब्ने गरेको घटना पनि छ । सहकारी तथा फाइनान्सले सजिलै ऋण दिने गर्दा पनि समस्या बढेको छ । कतिपय अवस्थामा मिटरब्याजीबाट ऋण लिनेहरु पनि छन् । यसरी ऋण लिएर डुब्ने गरेका छन् । मिटर ब्याजीहरुले हैरान कटाउने गर्दा पनि आत्महत्या गर्नेहरु भेटिन थालेका छन् । मिटर ब्याजीहरु ज्यानै लिने सम्मका छन् ।

ऋणमा डुबेर आत्महत्या गर्नेहरुमा जनप्रतिनिधि समेत छन् । कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको थियो । ६८ वर्षीय खड्का भारतको बहराइचस्थित शंकर होटलको कोठामा २९ पौष २०७६ मा मृत अवस्थामा भेटिएका थिए । उनले सुसाइड नोटमा समेत ऋणकै विषय उल्लेख गरेको भेटिएको थियो । उनी २० लाख ऋणमा थिए ।

गोंगबुमा साउनको अन्तिम साता एक पुरुषको हत्याको घटना पनि ऋणसँग जोडिएको छ । मृतक कृष्णबहादुर बोहराले अभियुक्त कल्पना मुठभरी पौडेललाई ऋण दिएको र फिर्ता गर्न नमानेपछि हत्या गरेको खुलेको थियो ।

प्रतिक्रिया