ढाकाको कमाइले ढकमक्क जीवन, १५ हजारको ढाका उद्योगबाट २०० भन्दा बढीलाई रोजगारी [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। ढाका तथा बुटिक उद्योग ‘द हाइल्यान्ड आर्ट’की प्रोप्राइटर कल्पना योङहाङ लिम्बू महिला उद्यमको क्षेत्रमा परिचित नाम हो । आफ्नो उत्पादनलाई छोटो समयमै अन्तरराष्ट्रिय बजारमा लोकप्रिय बनाउन सफल भएकी छन् लिम्बू ।

काठमाडौंको गोकर्णमा ०६३ सालमा स्थापना भएको उनको उद्योगले ढाकाबाट निर्मित सबै प्रकारका कल्चरल ड्रेस डिजाइन तथा उत्पादन गर्दै आएको छ । “उसबेला पाँचथर, इलाम र ताप्लेजुङका अधिकांश लिम्बू समुदायको घरमा तान हुन्थ्यो । घरमा बुनेको त्यही तानमा झन्डै ८० प्रतिशत कपडा उत्पादन हुन्थे,”

पाँचथरमा ०१९ सालमा जन्मेकी कल्पना सम्झन्छिन्, “विस्तारै आधुनिक बजारले प्राथमिकता पाउन थाल्यो । बजारमा पाइने झिल्केमिल्के कपडाप्रति मोह बढ्न थालेपछि तान विस्थापित भयो ।” काठमाडौं आउँदासम्म पनि उनलाई तानको मोहले छाडेको थिएन ।

त्यसैले सानैदेखि घरमा आमा र छिमेकीहरूले गर्दै आएको तान बुन्ने पेसा नै गर्ने कि भन्ने सोच आयो उनलाई । झन्डै दुई वर्ष उनले काठमाडौं, ललितपुर, भक्तपुर र बाहिरका पनि धेरै ठाउँमा गएर कस्ता–कस्ता ढाकाका सामान कसरी बन्दा रहेछन्, तान कहाँ पाइँदो रहेछ, धागो कहाँबाट ल्याउने हो आदि कुराहरू अध्ययन गरिन् ।

“दुई वर्षको अध्ययनपछि बल्ल ढाकाका कपडा बुन्ने काम गर्छु भन्ने अठोट गरें र काम थालें,” लिम्बूले भनिन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । सहकारीबाट १५ हजार रुपैयाँ ऋण लिएर उनले एउटा तान किनिन् । त्यो तानले उत्पादन गरेको सामान बेचेर थप ४ वटा किनिन् ।

अहिले उनको उद्योगमा ५० वटाभन्दा बढी ढाका कपडा बुन्ने तान छन् । १५ हजार रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ७५ जनाभन्दा बढीले रोजगारी पाइरहेका छन । ती मध्ये केहि पुरुष पनि छन् ।

गोकर्णमा स्थापित हाइल्यान्ड आर्टले कीर्तिपुर र ललितपुरमा पनि शाखा विस्तार गरिसकेको छ । उनको उद्योगले अहिले वार्षिक ३ करोड ३० लाख रुपैयाँबराबरको कारोबार गर्छ । कल्पनाले व्यवसाय सुरु गर्दा उनीसँग तान बुन्ने बाहेक अन्य डिजाइनका विषयमा ज्ञान थिएन ।

घरमा सिकेको त्यो कामचलाउ सीपले मात्र काठमाडौंको बजारमा प्रतिस्पर्धा गर्न सम्भव थिएन । त्यही समयमा अमेरिकामा बसोबास गर्दै आएका एक साथीको सहयोगमा डाइडी नाम गरेकी अमेरिकी नागरिकबाट नेपालमै फेसन डिजाइनसम्बन्धी तालिम लिने अवसर पाइन् । यसले उनलाई अगाडि बढ्न सहयोग पुग्यो । ढाकाका परम्परागत कपडालाई आधुनिक डिजाइनमा ढालेर नेपालीमात्र नभई विदेशमा पनि आफ्नो उत्पादन विस्तार गर्न सफल भएकी छन् कल्पना ।

संस्कृतिको पनि जगेर्ना हुने र व्यवसाय पनि अगाडि बढ्नेगरी परम्परागत कपडालाई आधुनिक रूपमा ढाल्न सके नयाँ पुस्ताले मन पराउने उनको अनुभव छ । उनको कारखानाबाट डिजाइन तथा उत्पादन गरिएका ढाकाका पहिरन थुप्रै म्युजिक भिडियो र चलचित्रमा पनि प्रयोग भइरहेका छन् ।

२०१४ की मिस नेपाल सुविन लिम्बूले मिस वल्र्डमा सहभागी हुँदा लाएको मेख्लीको पनि कल्पनाले डिजाइन गरेकी थिइन् । द हाइल्यान्ड आर्टबाट उत्पादन भएका साडी, सर्ट, कोट, सललगायत ढाका र खाँडीका सामान अमेरिका, बेलायत अस्ट्रेलिया हङकङ, बु्रनाईलगायत थुप्रै देशमा निर्यात भइरहेका छन् । आफ्नो उद्योगलाई झापा, सुनसरी, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामलगायत जिल्लामा विस्तार गर्ने उनको योजना छ ।

हाइल्यान्ड आर्टको काठमाडौंको गोकर्णमा सोरुमबाहेक न कुनै बुटिक छ, न प्रचारप्रसारका लागि विज्ञापन नै गर्ने गरेकी छन् । व्यवसाय प्रवद्र्धनको मुख्य माध्यम नै फेसबुक बनेको छ । आफूले डिजाइन गरेका कपडालाई फेसबुक पेजमा पोस्ट गरेपछि त्यहीबाट अर्डर आउने उनले बताइन् । “माग धान्नै गाह्रो छ । विशेषगरी विदेशबाट बढी माग छ,” लिम्बूले भनिन् ।

कल्पनाले आफ्नो कमाइको केही अंश समाजसेवामा पनि खर्चिने गरेकी छन् । उनले गरिबीका कारण शिक्षाबाट वञ्चित १० जना बालबालिकालाई पढाइरहेकी छन् । बिहान ५ बजेदेखि आधा रातसम्म काममा खटिरहने कल्पना केही गर्न चाहनेका लागि नेपालमै पर्याप्त अवसर भएको बताउँछिन् ।

सुरुमा आफैले उत्पादन गरेका वस्तुलाई विभिन्न स्थानमा डुलेर निकै दुःखका साथ अरूलाई किन्न हारगुहार गर्दै हिँडेको पीडादायी अनुभव छ कल्पनासँग । ‘कपडा त बनाएँ, तर बेच्ने कहाँ केही थाहा थिएन, धेरै ठाँउमा पुगेर हारगुहार गरेँ’, उनले भनिन् । लामो मेहनत गरेर मानिसहरूलाई ढाकाको महत्वबारे बुझाएपछि बिस्तारै कपडा बिक्री हुन थालेको उनी सम्झन्छिन् ।

धैर्य नगुमाईकन आफ्नो काममा निरन्तर लागेकी कल्पनाले प्रत्यक्ष र अप्रत्यक्ष गरी १ सय ८० जनालाई रोजगारी दिएकी छन् । हातले बुनिएका रुमाल, सल, खाँडीका कपडा, सुरुवाल, मफलर लगायतका वस्तुलाई उनले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरेकी छन् ।

उनको उत्पादन अहिले विश्वका धेरै देशहरूमा गइरहेको छ । उनी आफै पनि अहिलेसम्म संसारका ३८ वटा मुलुक घुमिसकेकी छन् । आफ्नो उत्पादनको बजार अझ फराकिलो बनाउन विदेश जाने गरेको कल्पना बताउँछिन् ।

व्यापार प्रवद्र्धनकै लागि उनले नेदरल्यान्डमा हिमालयन ज्वेलरी एण्ड हेन्डीक्राफ्ट्स नामको शोरुम पनि खोलेकी छन् । उनले त्यहीँबाट कम्पनीको उत्पादन निर्यात गर्दै आएकी छन् । त्यसबाहेक सिंगापुर, हङकङ र बेलायतमा फेसन शोहरू गर्दै नेपाली ढाकालाई विश्वभर चिनाउन मद्दत गरिरहेकी छन् उनी ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विभिन्न औपचारिक समारोहहरूमा कल्पनाले उत्पादन गरेका ढाकाका पोशाकहरू लगाउने गरेकी छन् । राष्ट्रपतिलाई सरल डिजाइन, सामान्य रङ र मौलिक सीपबाट बनेका ढाकाका कपडा मन पर्छ ।

कल्पनाले उत्पादन गर्ने ढाकाका कपडाहरू ५० देखि ५० हजार रुपैयाँसम्म मूल्यका छन् । व्यवसायलाई दिगो राख्नको लागि आफ्ना उत्पादनहरू थोरै मुनाफा राखेर बिक्री गर्ने गरेको उनी बताउँछिन् ।

कल्पनाले विदेशमा आफ्ना उत्पादनहरू अनलाइनमार्फत् बेच्दै आएकी छन् । विदेशका पुराना ग्राहकहरूले मागेको डिजाइन अनुसार लुगा तयार गरेर दिने गरेको उनले बताइन् । विदेशीहरूलाई पनि नेपालभित्र बिक्री गर्ने मूल्यमै सामान दिँदै आएको उनी बताउँछिन् । कार्गो खर्च भने सामान मगाउने कम्पनीले नै तिर्नुपर्छ ।

मेहनतकै कारण नाम, दाम र काम सबै आर्जन गरेको बताउने कल्पनाको निष्कर्ष छ, ‘देशमा यति धेरै सम्भावना हुँदाहुँदै महिलाहरू विदेशमा नारकीय जीवन बिताउन किन जान्छन् होला ?’

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू