देशव्यापी रुपमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने

admin

काठमाडौं, ४ असाेज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज( सोमबार)देखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ।

चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारील जानकारी दिए। ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने उनले जानकारी दिए। यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइनेछ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ।

बाँकी जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिने तयारी मन्त्रालयले गरेको छ।

त्यसबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने सामेबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले बताए।

काठमाडौँमा सोमबारदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो मात्रा खोप लगाउने उनले बताए। काठमाडौंमा १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गर्ने बताउँदै उनले तीन दिन भेरोसेलको दोस्रो मात्रा लगाएपछि पहिलो मात्रा सुरु गर्ने जानकारी दिए।

प्रतिक्रिया