दोस्रो चरणको खोप ल्याउन र लगाउन मात्रै बाँकी : स्वास्थ्य मन्त्रालय

admin

काठमाडौं, १५ माघ : सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताए । उनकाअनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । तर, भारतले अब खोप अनुदानमा पठाउने नपठाउने निश्चित भइसकेको छैन । खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डा. अधिकारीले बताए ।

यस्तै, पहिलो चरण अन्तर्गतको खोप बिहीबार पनि वितरण गरिँदै छ । बुधबार प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लामा मात्रै खोप लगाउन सुरु गरिएको थियो । बुधबार प्राविधिक कारणले खोप पुर्‍याउन नसकिएका जिल्लामा बिहीबार खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेशका केही जिल्ला र सुदूरपश्चिमको बाजुरामा पनि बुधबार खोप लगाउन सुरु भएको थिएन । बिहीबार देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने स्वास्थ्य मन्त्रालयका डा. अधिकारीले बताए ।

उनकाअनुसार बुधबार खोप लगाउन बाँकी रहेका लक्षित वर्गलाई बिहीबार पनि खोप दिइने छ । बुधबार ९ हजार ८४ जनाले विभिन्न खोप केन्द्रबाट खोप लगाएका थिए । भारतले गएको ८ गते नेपाललाई कोरोनाविरुद्धको खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो । विज्ञले ढुक्क भएर खोप लगाउन आग्रह गर्दै आएका छन् । बुधबार खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया