धरौटीमा छुटिन् गायिका आस्था राउत

admin

काठमाडौं, माघ १४: अभद्र व्यवहार अभियोगमा चार दिनको म्याद थपेको भोलिपल्टै गायिका आस्था राउत रिहा भएकी छन्। गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार राउत चार हजार धरौटी बुझाएर रिहा भइसकेकी छन्।

राउतविरुद्ध त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलमा सुरक्षा चेकजाँचका लागि खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन्। गत माघ १ गते झापा हुँदै सिक्किम जाने क्रममा आस्था र रमिताबीच त्रिभुवन विमानस्थल सुरक्षा चेकजाँचमै विवाद भएको थियो।

आफ्नो ज्याकेटसमेत खोल्न लगाएर तँ भनेको भन्दै आस्थाले त्यसलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रहरीलाई डन्ठे, फोहरका किरा जस्ता शब्द प्रयोग गरेर गाली गरेकी थिइन्। माघ ५ गते जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि आस्था आइतवार प्रहरी नियन्त्रणमा परेकी थिइन्।

परिवारका सदस्यसहित पुगेकी उनलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको थियो। अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकुले जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थपेको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्।

आस्था सांगीतिक कार्यक्रममा सहभागी हुन करिब २ साता सिक्किम र दार्जिलिङ पुगेर फर्किएपछि प्रहरी नियन्त्रणमा परेकी थिइन्। प्रहरीविरुद्ध गाली गरेलगत्तै उनले गल्ती भएको स्वीकार्दै माफी मागे पनि प्रहरीले मुद्दा अघि बढाएको थियो। विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो।

आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको एक दिनपछि उनले भिडियो हटाएकी थिइन्। सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।

प्रतिक्रिया