नेकपालाई विवेकशीलको प्रश्न: राष्ट्रिय सभामा बामदेव गौतमको आवश्यकता किन ?

तुलसी नेपाल

काठमाण्डौ – विवेकशील नेपाली दलले प्रतिनिधिसभाको निर्वाचनमा बर्दियााट पराजित बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सत्तारुढ नेकपाको निर्णय बदर गर्न माग गरेको छ ।

राष्ट्रियसभालाई प्रतिनिधिसभा वा अन्य तहका प्रत्यक्ष निर्वाचनमा हारेका व्यक्तिहरू व्यवस्थापन गर्ने थलो किन बनाइँदै छ भनेर दलले प्रश्न गरेको छ ।

‘राष्ट्रियसभामा दश प्रतिशत भन्दा बढी सदस्यहरू कुनै न कुनै पछिल्लो निर्वाचनमा पराजित पात्रहरू जम्मा हुनुले दिने सन्देश के हो ? यस्तो क्रियाकलापले राष्ट्रिय सभाको गरिमालाई घटाउँछ कि बढाउँछ ? यस प्रकरणले सत्तासीन पार्टीका नेताहरू लाभको पदबिना एक छिन पनि बस्नै नसक्ने हो त? भन्ने प्रश्न पनि खडा भएको पनि विवेकशीलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई ललकार्दै वामदेव गौतम स्वयंले आफू मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रिय सभामा जान लागेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको पनि विवेकशीलले भनेको छ ।

‘मन्त्री र उपप्रधानमन्त्रीको रूपमा वामदेव गौतमको नेतृत्व यस अघि पनि पटक–पटक परीक्षित भैसकेको हो । उनको नेतृत्वले देशलाई के सकारात्मक योगदान दियो? बहुदल काल देखि मौलाएको र हालसम्म निरन्तरता पाएको सङ्गठित सुन तस्करी, सांसद खरिद(बिक्री देखि गणतान्त्रिक नेपालमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रकरणसम्म वामदेवको भूमिका सबै नेपाली नागरिकका माझ जगजाहेर नै छ’, पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट एक महिलासमेत तिन जना मनोनीत हुने व्यवस्था किन गरियो ? पार्टी वा पार्टी भित्रको कुनै गुटको संकटमोचनका लागि कि दलगत राजनीति भन्दा बाहिर रहेका प्रबुद्ध नागरिकहरू वा कुनै विषय(विज्ञलाई स्थान दिनका लागि भनेर पनि प्रश्न गरेको छ ।

‘अहिले राष्ट्रिय सभामा वामदेव गौतमको आवश्यकता किन परेको हो ? के कारणले त्यहाँ वामदेवको अभाव खड्कियो ? उनले दुई वर्ष कुरेर आउँदो निर्वाचनको प्रतीक्षा गर्न किन नसकेका ? नेपाली नागरिकहरूलाई यसको स्पष्ट जवाफ नेकपाको सचिवालयले दिनु जरुरी छ’ विज्ञप्तिमा भनिएकोे छ ।

कोभिड–१९, कोरोना भाइरस महामारी, यसले निम्त्याएको आर्थिक सङ्कट तथा देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानले ठलो जनधनको क्षति भएको विषयलाई एकातिर पन्छाएर नेकपा नेतृत्वले गएको ६ महिना कुर्सीको तानातानमा बिताएको स्थिति प्रति सबै नेपाली नागरिकहरू अवगत नै छन् ।

‘नेकपाको आन्तरिक किचलो र सत्ता सङ्घर्षको पटाक्षेप वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णयबाट हुनुले नेपाली नागरिकहरूको भविष्य कस्तो नेतृत्वको हातमा छ भन्ने छर्लङ्ग भएको छ’, अतः वामदेव गौतमलाई राष्ट्रिय सभाका निम्ति सिफारिस नगर्न हामी केपी ओली नेतृत्वको सरकारलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, राष्ट्रिय सभामा मनोनीत हुने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे गम्भीर ढङ्गले विचार गर्न सम्माननीय राष्ट्रपति महोदयाको पनि विशेष ध्यानाकर्षण गराउँछौँ ।’

प्रतिक्रिया