प्रचण्ड-नेपाल समूहद्वारा १४ गते देशव्यापी प्रदर्शन गर्ने घोषणा

admin

काठमाडौं, ९ पुस : संसद् विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाडौंमा शुक्रबारदेखि केही न केही प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड-नेपाल समूहका नेताहरूले बताएका छन् ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको हो ।

यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड-नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । बिहीबार भएको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो पक्षमा रहेकाले आफ्नो पक्षका निर्णयलाई वैधता दिन निर्वाचन आयोग जाने निर्णय गरेको प्रचण्ड-नेपाल समूहका एक नेताले बताएका छन् ।

प्रतिक्रिया