बर्दियामा धानको समर्थन मूल्य तोकियो

राष्ट्रिय समाचार समिति

गुलरिया, २७ कात्तिक: बर्दियामा धानको समर्थन मूल्य तोकिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा आज बसेको मूल्य निर्धारण समितिको बैठकले मोटा धान प्रति क्वीन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मकवानपुर धानको दुई हजार ७०० तोकेको हो ।

खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि. राजापुरले कात्तिक २८ गतेदेखि धान खरीद गर्ने भएको छ । मोटा धान तत्कालै खरीद हुने र मकवानपुर धान केही समय पछि खरीद हुने खाद्य ब्यवस्था तथा व्यापारिक कम्पनी लि. राजापुरका प्रमुख रेवन्त्त रावलले जानकारी दिनुभयो । बर्दियामा राजापुर क्षेत्रमा मात्रै लगाइने मकवानपुर धान मोटा जस्तै भए पनि हरेक वर्ष यसको मूल्य मोटाभन्दा बढी हुने गरेको छ ।

सरकारले मोटा धानमै सूचीकृत गरेर सोही सरह मूल्य निधारण गरेको र जिल्लामा बसेको बैठकले मकवानपुर धानको रु दुई हजार ७०० निर्धारण गरेर कार्यान्वयनका लागि समर्थन लिन केन्द्रमा पत्रचार गरिएको प्रमुख रावलले बताउनुभयो । केन्द्रबाट सकारात्मक कुरा आएको र अनुगमन गरी स्वीकृति दिने कुरा भएको पनि प्रमुख रावलले बताउनुभयो । अहिले बजारमा व्यापारीले मोटा धान प्रति क्विन्टल रु दुई हजार २०० र मकवानपुर धान रु दुई हजार ४५० मा किसानहरुसँग खरीद गरिरहेका छन् ।

सरकारको नीति अनुसार खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि. राजापुरले किसानसँग धान खरीद गरी त्यसलाई प्रशोधन गरी खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गर्ने गरेको छ । संस्थानको ६० हजार क्वीन्टल धान भण्डारण गर्ने क्षमता छ । गत वर्ष ४० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य रहे पनि तीन हजार ३० क्विन्टल मात्रै खरीद गर्न सकेको थियो ।

यस वर्ष भने ४५ हजार हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य रहेको छ । जनशक्ति व्यवस्थापन गर्न सकेको अवस्थामा किसानलाई पायक पर्ने अन्य ठाउँमा खरीद केन्द्र स्थापना गर्ने प्रमुख रावलले बताउनुभयो ।

प्रतिक्रिया