भीमफेदीमा इन्जिनियरिङ पढाइ हुने

राष्ट्रिय समाचार समिति

हेटौँडा, २९ भदौ : मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको विसं २००४ मा स्थापित देशकै पुरानोमध्येको महेन्द्र माविमा तीनवर्षे ‘डिप्लोमा इन सिभिल इन्जिनीयरिङ’ कक्षा सञ्चालन हुने भएको छ ।

इन्जिनीयरिङ विषयमा दुई वर्षअघि देखि १८ महिने ‘सब ओभरसियर’ कार्यक्रम सञ्चालन गर्दै आएको प्राविधिक विद्यालयले इन्जिनीयरिङ विषयमा रुचि भएका विद्यार्थीले सो तहको अध्ययन गर्न अन्यत्र जान नपरोस् भन्नका लागि तथा दक्ष प्रविधिक जनशक्ति उत्पादन गर्न सिटिइभिटीको सम्बन्धनमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुमारसिंह लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा यसअघि सिटिइभिटीअन्तर्गत नै रही १८ महिने इन्जिनीयरिङ कक्षा सञ्चालन हुँदै आएको छ । हाल सो कार्यक्रमअन्तर्गत विद्यालयमा ३० विद्यार्थी इन्जिनीयरिङ विषयको १८ महिने कार्यक्रममा अध्ययनरत छन् ।

भूकम्पपछिको पुनर्निर्माणमा आएका इन्जिनीयर तथा कुलेखानी जलविद्युत् आयोजनाका दक्ष इन्जिनीयरबाट अध्यापन गराइरहेको र डिप्लोमामा पनि विगतमा अध्यापन गराउँदै आएका शिक्षकले नै अध्यापन गराउने विद्यालयका प्राविधिक विभागका संयोजक कृष्ण पोखरेलले जानकारी दिनुभयो ।

विद्यालयमा विकट क्षेत्र जस्तै कोगटे, इपा, देउराली तथा टाढाटाढाबाट समेत विद्यार्थी आउने गरेका र टाढाका विद्यार्थीलाई लक्षित गरी छात्रावासको समेत व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेसम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा शिक्षा विषयमा स्नातक कक्षासमेत सञ्चालन गर्ने तयारी गरेको छ ।

टाढाका विद्यार्थीलाई आवतजावतमा समस्या पर्ने गरेको जनाउँदै अध्यक्ष लामाले विद्यालयले चाँडै नै स्कुल बससमेत सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा स्कुल बसका लागि प्रस्ताव पेश भएको र मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया