माइतीघरमा धर्ना बस्दै आएका ६० वर्षीय महतोको पिडा – ‘उखुको पैसा नपाए यहि मर्छु’

मनिषा थापा

पिएनपिखबर : उखु खेती गरेर जीविका चलाउँदै आएका सर्लाहीका राम विलाश महतो उमेरले ६० नाघेर बुढ्यौली लागे पनि तनाबले  पिछा छाडेको छैन । हालै ३ वर्ष देखि उनले चिनी मिलबाट उखुको भुक्तानी पाएका छैनन् जसले गर्दा उनको घर जग्गा नै लिलाम हुने अवस्थामा छ।

मेहेनतको फल नपाएपछि उनी र उनी जस्तै धेरै किसानहरु राजधानीको माइतीघर मण्डलास्थित ‘उखु संचालकलाई पक्राउ गर’, ‘किसानलाई न्याय दे ‘, ‘कृषकलाई मार्न पाइदैन’ भन्दै आन्दोलन गरिरहेका छन्।

 राम विलाश पहिलोपटक उखुको पैसा पाउने आशले राजधानी आएका हुन्। अब उनी समस्या समाधान नभए घर नफर्किने बताउँछन। पिएनपिखबरसँग कुरा गर्दै उनी भन्छन्, ‘११ जनाको परिवार कृषिबाटै धानिरहेको छु। ६ हजार ऋण लिएर राजधानी आएको १४ दिन भईसक्यो। निकै महँगो ठाउँ छ। गाउँकै साथी काम गर्ने खानामा बस्दै आएको छु। विहान खाना खान्छु अनि हिडेरै दिउसो माइतीघरमा आउने गरेको छु।

उनले अघि भने, ‘सरकारले के गर्छ थाहाँ छैन पैसा नपाए म यही मर्छु। यसै पनि ज्यान बुढो भईसक्यो कहाँ लड्छु थाहाँछैन।’

महतोसँगै मण्डलामा १ सय ५० किसान धर्ना बस्छन्। उनीहरुले ३ वर्ष देखि पैसा पाएका छैनन् जसकारण गत हप्ता देखि माइतीघर मण्डलामा ‘जय किसानको ब्यानर’ लिएर बसिरहेका छन्। उखु मिलका साहु बेपत्ता भएपछि उनीहरु माइतीघरमा धर्ना बसिरहेका हुन्। सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ।

यता, राष्ट्रियसभामा केहि दिन अघि बैठक बसी संसदहरुले उखु किसानलाई मजदूर बनाउन बाध्य पार्ने उद्योगीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। गृहमन्त्रालयले उखु उद्योगीको खोजी गर्न हिजो(सोमबार) प्रहरीलाई निर्देशन दिएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू