मिर्गौला पीडित गुरुङलाई ५० हजार सहयोग

admin

काठमाडौं, २९ पुष । धादिङ समाज यु.ए.ईले धादिङ निलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायीवासिन्दा जीतबहादुर गुरुङको उपचारको लागि ५० हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजका उपाध्यक्ष ईश्वर भट्टले मिर्गौला रोगबाट पीडित गुरुङको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

समाजको तर्फबाट संकलित उक्त रकम रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, समाजका आजिवन सदस्य तथा पूर्व महासचिव किरण धमला र ज्ञाननारायण श्रेष्ठको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो । ६२ वर्षीया गुरुङको दुवै मिर्गौलामा समस्या छ । एउटा मिर्गौला पूर्ण रुपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ । उनको आर्थिक अवस्था अत्यन्तै दयनीय छ ।

कार्यक्रममा सम्बोधन गर्दै सभापति धमलाले समाजले सराहनीय काम गरेको भन्दै धन्यवाद दिए । आगामी दिनमा पनि गुरुङको उपचारको लागि सबैले सहयोगी हात अघि बढाउनुपर्ने धमलाको भनाई छ ।

उनले भने,‘म पनि उपचारमा सहयोग जुटाउने टीममा सहभागी भएँ । उहाँको उपचारको लागि जस्तोसुकै सहयोग गर्नपनि तयार छु । विदेशबाट नेपाली दाजुभाईहरुले ठूलो सहयोग गर्नुभएको छ । यो खुशीको कुरा हो ।’

त्यस्तै कार्यक्रममा समाजका पूर्व महासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरु गर्दै आएकोबारे प्रकाश पारेका थिए । त्यस्तै, उनले आफूहरुले देशभरि आपत, विपत र दुःख र पीडामा परेकाहरुलाई समाजले सहयोग गर्दै आएको र आगामी दिनमा यो कामलाई निरन्तरता दिने जानकारी दिए ।

प्रतिक्रिया