मुलपानीमा मध्यराति प्रहरीको ‘जुवा’ अपरेशन, भागदौड हुँदा दुई जनाको मृत्यु

admin

काठमाडौँ, २० असोज : काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । त्यसक्रममा झ्यालबाट हाम फाल्दा दुर्इ जनाको मृत्यु भएको हो ।

‘३ तले घरमा भित्र छिर्ने वित्तिकै एउटा चेन गेट रहेछ । त्यहाँ प्रहरीले चाबी खोलेर भित्र जान खोज्दा जुवाडेले हाम्रो टोली आएको चाल पाए’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘त्यसपछि त्यहाँ भागाभाग भएको थियो । त्यही क्रममा तेस्रो तलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको हो ।’
घर बाहिर रहेको सादा पोशाकका प्रहरीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई प्रहरीको भ्यानमा हस्पिटलसम्म लगिएको थियो । तर, ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भयो ।

२३ जना पक्राउ, नाइके फरार
प्रहरीले जुवाको खालबाट २३ जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको छ ।तर, मुख्य नाइके भने भाग्न सफल भएकी छन् । प्रहरीका अुनसार बौद्ध क्षेत्रको विभिन्न स्थानमा हरेक दिन भिन्नभिन्न घरमा जुवा खेलाइँदै आएको थियो ।

त्यसको नाइके थिइन्, हेमा गुरुङ । उनले लामो समयदेखि जुवा खेलाउँदै आएको प्रहरी स्रोत बताउँछ ।‘दुई जना घाइते भएपछि प्रहरीको एउटा समूह उद्दारमा जुट्दा उनी उम्कन सफल भइन्’, एक प्रहरी अधिकारीले भने, ‘त्यही कारण रकम पनि कम बरामद भयो ।’प्रहरीले जुवाडेको एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद .गरेको छ ।

जवा खेलेको घरमा एक पटकको १० हजार रुपैयाँ दिइने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घरबेटीलाई पनि पक्राउ गरेको छ । उनले यसअघि पनि एक पटक सोही घरमा जुवा खेलाइएको बयान दिएका छन् । थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया