ललितपुरलाई हराउँदै काठमाडौं फाइनलमा

admin

काठमाडौं, ३० वैशाख : काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।

काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको आठौं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको अवसर गुमाएका थिए । काठमाडौं गोलकिपर विकेश कुथु बिट भईसकेको अवस्थामा नुर्लानले दिएको क्रसमा भिलिमले खाली पोस्टमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको नवौं मिनेटमा काठमाडौंका स्टेफेनको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको त्यहिँ बलमा आशिष राईको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो । तर, खेलको खेलको १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।

मेसौकेको पासमा स्टेफेनले बल अगाडी बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । जसमा मेसौकेले गोल गरे ।

खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २-० को अग्रता दिलाए । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले उत्कृष्ट गोल गरे ।

२८ औं मिनेटमा ललितपुरका गौरव बुढाथोकीले गोलको सुन्दर अवसर गुमाए । कप्तान अन्जन बिष्टको पासमा गोलकिपर विकेश अघि बढेको अवस्थामा गौरवले खाली पोस्टमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

त्यसपछि खेलको ६० औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३-० को जित दिलाए । उनले तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलरक्षक अर्पण कार्कीसँगको वान भर्सेज वानमा उत्कृष्ट गोल गरे ।

अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ । धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर फाइनल पुगेको हो । दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ ।

प्रतिक्रिया