संयुक्त राष्ट्रसङ्घमा नेपालको धारणा : ‘अफगानिस्तान र म्यानमारका नागरिकले गौरवका साथ बाँच्न पाउनुपर्छ’

admin

काठमाडौं, १२ असोज : अफगानिस्तान र म्यानमारको समस्याबारेमा नेपालले संयुक्त राष्ट्र सङ्घमा आफ्नो धारणा राखेको छ । संयुक्त राष्ट्र सङ्घीय महासभाको ७६औँ सत्रलाई सम्बोधन गर्ने क्रममा नेपालका परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तान र म्यानमारका घटनाक्रमबारे पनि बोलेका हुन् ।

म्यानमारमा सेनाले जननिर्वाचित प्रतिनिधिबाट सत्ता खोसेपछि उत्पन्न समस्या र अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछिको अवस्थाको बारेमा बोल्दै परराष्ट्र मन्त्री खड्काले आफूहरूले चासोका साथ हेरिरहेको बताए ।

उनले अफगान नागरिकहरूले गौरवका साथ जिउनुका साथै आधारभूत अधिकार र स्वतन्त्रता उपभोग गर्न पाउनुपर्ने भन्दै शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न संलग्न सबै पक्षलाई अनुरोध गरे । मन्त्री खड्काले अफगानिस्तानमा अवरोधरहित मानवीय सहायता तथा सबैका लागि शिक्षा र स्वास्थ्यसहित सार्वजनिक सेवा पूर्ण सुरु गर्न आह्वान पनि गरे ।

यस्तै उनले म्यानमारका नागरिकहरूको आधारभूत अधिकार र स्वतन्त्रतालाई सम्मान गर्न आग्रह गर्दै त्यहाँ प्रजातान्त्रिक र संवैधानिक प्रक्रियालाई पुनः सुरु गर्न नेपालका तर्फबाट आह्वान गरे । मन्त्री खड्काले आफ्नो सम्बोधनमा लिबिया, सिरिया र यमनमा मानिसहरूको कष्टको छिटो अन्त्य हुनुपर्ने तथा इजरायल र प्यालेस्टाइन द्वन्द्व समाधान चाँडो हुनुपर्ने बताए ।

प्रतिक्रिया