हास्य टेलिसिरियल ‘सक्किगो नि…’ ले छाड्यो नेपाल टेलिभिजन

admin

काठमाडौं : हास्य टेलिसिरियल ‘सक्किगो नि…’ आगामी २० मंसिरबाट पुनः प्रसारणमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो टेलिसिरियल कोरोना महामारीपछिको लकडाउनसँगै बन्द भएको थियो । पुनः प्रसारण हुन लागेको यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन ।

टेलिसिरियलका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार टेलिसिरियल अब हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । पुरानै कलाकार र पुरानै विषयवस्तुमाथि बन्ने सिरियल प्रसारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घिमिरेले बताए ।

उनले भने, ‘हरेक शृंखलाका लागि नेपाल टेलिभिजनमा दुई लाख ५५ हजार रुपैयाँ तिर्दै आइरहेका थियौँ । हिमालय टेलिभिजनमा त्यो ब्रोडकास्ट चार्ज तिर्नु नपर्ने भएको छ ।’

प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडकास्टका लागि तिर्नु नपर्ने भएपछि धेरै सहज हुने घिमिरेको आकलन छ । तर, युट्युबमा भने पुरानै च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ । ‘हामीले हिमालय टेलिभिजनलाई टिभीमा प्रसारणको मात्र अधिकार दिएका हौँ,’ घिमिरेले भने ।

प्रतिक्रिया