स्थानीय तहको भ्रष्टाचार रोक्न आयोग सक्रिय

admin

काठमाडौँ, ९ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितता रोक्नका लागि सक्रिय रुपमा परिचालित भएको जनाएको छ । पछिल्लो समयमा स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढेको, विकास निर्माणका काममा समेत अनियमितता भएको भन्ने उजुरी बढ्दै गएकाले आयोगले सक्रियता बढाएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

आयोगले भ्रष्टाचार र अनियमिततासम्बन्धी बढी उजुरी परेका निकायको अनुसन्धान कार्यलाई तीव्रता दिएको उल्लेख गर्दै उहाँले स्थानीय तहमा विकास निर्माण लगायतका कार्यमा हुने गरेका अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली परिचालित भएको बताउनुभयो । स्थानीय तहका काम कारवाहीका विषयमा परेका उजुरीको अनुसन्धान कार्य तीव्र पारी टुङ्गोमा पुग्न र प्राप्त भएका उजुरीमाथि समेत आयोगले द्रुतरुपमा कार्य प्रारम्भ गरेको आयोगको भनाइ छ ।

पहाडी जिल्लामध्ये बढी उजुरी भएका कास्की र पर्वत जिल्लाका उजुरीलाई स्थलगत अनुगमन गरी अनुसन्धान तथा छानबिन गर्न स्थलगत टोली खटाइएको प्रवक्ता दङ्गालको भनाइ छ । आयोगबाट खटिएको टोलीले सङ्कलन गरेका तथ्य प्रमाणका आधारमा अनुसन्धान एवं छानबिन गरी शीघ्र टुङ्गोमा पु¥याउने र आगामी दिनमा पनि बढी उजुरी परेका अन्य विषयगत क्षेत्रमा समेत अनुसन्धान कार्यलाई व्यवस्थित बनाउने जनाएको छ ।
-रासस

प्रतिक्रिया