पहिरोका कारण भूकम्पपीडितको घर निर्माण अलपत्र

admin

गोरखा, ९ असोज: वर्षामा गएको पहिरोले सडक भत्किएपछि गोरखाको सिराचोक गाउँपालिका– ४ र ५ का भूकम्पपीडितको घर निर्माणको काम अलपत्र परेको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्न नसक्दा वैशाख महीनादेखि नै घर निर्माण शुरु गरेका सिराचोक गाउँपालिकाका ५९ भन्दा बढी भूकम्पपीडितको घर निर्माण रोकिएको हो ।

“खहरे खोलाका सडकमा पहिरो गएपछि सामान ढुुवानी गर्न सकिएको छैन”, स्थानीय पीताम्बर पोखरेलले भन्नुभयो, “सडक मर्मत गरी दिन गाउँपालिकालाई पटकपटक आग्रह गरे पनि कुनै सुनुवाइ नहुँदा समस्या भएको छ ।” जेठ महीनामा घर बनाउन शुरु गर्नुभएका उहाँलाई पाँच महीना बितिसक्दा पनि बनाइ सक्ने छाँटकाट नदेखिए पछि पीर पर्न थालको छ ।

ऋण खोजेर दुई कोठे घर बनाउन थाल्नुभएका पोखरेलको घर आधाजसो मात्र सकिएको छ । उहाँलार्ई वर्षाकोे पानीले सडकमा पहिरो गएर सामान ल्याउने बाटो नै अवरुद्ध भएकाले अब कसो गर्ने भन्ने चिन्ता छ । खहरेखोलामा गएको पहिरोले मानिस आउजाउ गर्नसमेत समस्या रहेको उहाँले बताउनुभयो । “इञ्जिनीयर आएर घर छिटो सम्पन्न गर्नुप¥यो भन्छन्, पहिरोले सडक भत्किएपछि घर बनाउने सामान ल्याउन सक्ने अवस्था नै छैन कसरी घर बनाउने रु” उहाँले प्रश्न गर्नुभयो ।

वडा कार्यालयले छिट्टै निर्माण गरिदिन्छौँ भन्ने जवाफ दिने गरेको भए पनि तीन महीना बितिसक्दासमेत भत्किएको सडक मर्मतको काम शुरु नगरेको माझथोकका अर्का भूकम्पपीडित कृष्णप्रसाद पोखरेलको भनाइ छ । वैशाखको पहिलो सातादेखि घर बनाउन थाल्नुभएका उहाँले रड, सिमेन्ट, बालुवालगायतका निर्माण सामग्री ढुवानी गर्न नसक्दा निर्माणको काम रोकिएको हो । “कहिले पैसा भएन, कहिले रड सिमेन्ट पाइएन, ढिलो गरी भए पनि पैसा खोजेर सामानको अडर गरेर आए, फेरि पहिरोले बाटो बन्द भयो”, पोखरेलले भन्नुभयो । दुईकोठाको घर निर्माण शुरु गर्नुभएका पोखरेलले पनि घर निर्माण करीब आधाआधी सक्नुभएको छ ।

सरकारले दिने रु तीन लाख अनुदानले मात्रै नपुग्ने भएपछि ऋण खोजेर घर बनाउन शुरु गर्नुभएका उहाँलाई छिटो घर सक्न पाए ढुक्क हुन्थ्यो भन्ने लागेको बताउनुहुन्छ । घर बनाउन ढिलो भएपछि पोखरेलको परिवार अहिले भूकम्पले भत्काएकोे पुरानै घरमा बस्दै आउनुभएको छ । “कोही बाहिर सुत्छौँ, कोही भित्रै सुत्छौँ, नाल दरिलो भएकाले केही हुँदैजस्तो लाग्छ, अहिलेसम्म त केही भएको छैन घर नभएपछि कहाँ बस्न जाने रु” पोखरेलले प्रश्न गर्नुभयो ।

बाटो बन्द भएकाले घर निर्माण गर्न नसक्दा सरकारले दिने भनेको तेस्रो किस्ताको अनुदान रकमसमेत झिक्न नपाएको उहाँको गुनासो छ । “उता बैंकमा आफूले पाउने पैसा पनि भिक्न पाएको छैन, यता ब्याज तिरेर घर बनाउन परेको छ, छिट्ट्रै पहिरो हटाएर घर बनाउन पाए पैसा झिक्न पाइन्थ्यो”, पोखरेलले भन्नुभयो ।

पहिरोको कारण स्थानीय जितबहादुर गुरुङको समस्या पनि उस्तै छ । चैतदेखि नै घर बनाउन शुरु गर्नुभएका गुरुङको अहिलेसम्म घर बनिसकेको छैन । पहिले कामदार नपाएर हैरान भएका ७५ वर्षीय गुरुङ अहिले सामान ढुवानी गर्न नपाएर हैरान छन् । “इँटा ल्याउन नपाएर घरको गारो तुर्न अझै सकेको छैन, ल्याएर राखेको सिमेन्ट बिग्रिसक्यो”, उहाँले भन्नुभयो । एक दुई हप्ताभित्र पनि बाटो नबन्ने हो भने ऋण खोजेर ल्याएको सिमेन्ट फाल्नुपर्ने अवस्था आउने गुरुङ बताउनुहुन्छ । खहरेखोलाको पहिरोले बाटो बन्द हँुदा छोप्राकका वडा नम्बर ४ र ५ का ५९ भन्दा बढी भूकम्पपीडितको घर निर्माणको काम अलपत्र परेको हो ।

माझगाउँ मात्र १२ घर भूकम्पपीडितको बन्दै गरेको घर अधकल्चो भएको छ भने त्यस भेकमा पर्ने आरुबोटेका १२ घर, फिरफिरेका १७ घर, सालबोटेका १८ घर, थामपाटोका छ घरको निर्माण बाटो नबन्दा अलपत्र छ । तीमध्ये कतिपयको घरमा छाना छाउन बाँकी छ भने कतिपयको डिपिसीसम्मको काम सकिएको भूकम्पपीडितको भनाइ छ ।
-रासस

प्रतिक्रिया