पोखराकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा, छिमेकी पक्राउ

मनिषा थापा

पोखरा, असोज १०  :  पोखरा–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ ।

घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै आरोपीलाई पक्राउ गरेको हो । श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् ।

घटनापछि शंकास्पद आधा दर्जनभन्दा बढीलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने अपराध स्वीकार गरिसकेको बताएको छ ।

वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीले अपराधमा संलग्न पक्राउ परिसकेको जनाए । यद्यपी, उनले पक्राउ परेकाबारे थप कुरा खोल्न चाहेनन् । दिउँसो पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानकारी दिने प्रहरीले जनाएको छ ।

डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो । मंगलबार बिहान ८ बजे स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

मध्यरातसम्मै अनुसन्धान पश्चात् घटनामा संलग्न पक्राउ गर्न प्रहरी सफल भएको हो । सोमबार साँझदेखि हराएकी श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै उनको शव अर्धनग्न अवस्थामा झाडीमा भेटिएको थियो ।

प्रतिक्रिया