जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि

रिता घिसिंग

काठमाडौँ, ११ असोज : अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ ।

पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा हुनेछ ।

सम्मेलनमा जापानका हाइजिनले पनि नेपाली कविलाई साथ दिनेछन् । शिनओकुबोस्थित नेपाली मुरा कक्ष ( सोलमारी ) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेल माइलाले बताउनुभयो । सम्मेलनका क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिने तथा पाँडे र पौडेलले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । सम्मेलनमा नेपालबाट पाँडे, अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल तथा बेलायतबाट कृष्ण बजगाईँको सहभागिता हुनेछ ।
–रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू