वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुक्यो : नेता नेपाल

रिता घिसिंग

काठमाडौँ, ११ असोज : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताउनुभएको छ ।

सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताउनुभयो ।

उहाँले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताउनुभयो ।

चालू दोस्रो अधिवेशनको ७९औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताउनुभयो ।

संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको उहाँको गुनासो थियो । उहाँले केही विकास विरोधीले विमानस्थल, जलविद्युत् परियोजना र सडक निर्माण गर्न अवरोध पु¥याएको आरोप लगाउनुभयो । रासस

प्रतिक्रिया