शान्तिसुरक्षाको अवस्था खस्कियो : नेता गच्छदार

रिता घिसिंग

काठमाडौँ, ११ असोज : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाउनुभयो ।

नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हँुदै गएको बताउनुभयो ।

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा पार्टीका कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झँै जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप लगाउनुभयो ।

प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन भन्दै उहाँले विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताउनुभयो ।

उहाँले ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर बढाउनुले संविधान कमजोर बन्दै गएको छ’ भन्नुभयो । नेता गच्छदारले सरकार सङ्घीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप लगाउनुभयो ।
–रासस

प्रतिक्रिया