सूचना प्रविधि पार्कमा मुद्रण सुरक्षण प्रेस सञ्चालन गर्ने

admin

बनेपा, ११ असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले बनेपामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण प्रेस सञ्चालन गर्ने बताउनुभएको छ । यहाँ आज बनेपा ब्वाइज क्लबले आयोजना गरेको ‘बनेपा महोत्सव–२०७५’ को उद्घाटन गर्नुहुँदै उहाँले झण्डै रु आधा अर्ब खर्च गरेर स्थापना भएको सूचना प्रविधि पार्कलाई प्रयोगमा ल्याउनको लागि सो योजना अगाडि सारिएको बताउनुभयो ।

नेपालीका लागि चाहिने नागरिकता छाप्ने , नोट , चेक बुक , पासपोर्ट, एटिएम, गाडीको नं प्लेट र सवारी चालक अनुमतिपत्र छाप्ने लगायतका सबै वस्तु अहिलेसम्म बाहिरबाट छाप्दै आएकाले देशभित्र नै लगानी गरेर त्यसैको सेवा शुरु गर्न सूचना प्रविधि पार्कलाई प्रयोग गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले सरकारी कामको मात्रै करीब रु आठ अर्ब र निजी क्षेत्रको करीब रु दुई अर्ब गरी रु १० अर्ब वर्षेनी विदेश पठाइरहेको हुँदा त्यसलाई देशभित्र नै प्रयोग गर्ने र जसबाट नेपालीले रोजगारीसमेत पाउने व्यवस्थाको सुनिश्चित गर्न सुरक्षण मुद्रण प्रेस सञ्चालन गर्न लागेको हो भन्नुभयो ।

उहाँले प्रेस सञ्चालन गर्ने काम पैसा र व्यापारसँग मात्रै जोडिएको कुरा नभई देशको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय भएकाले अब छिट्टै बनेपामा यो कार्य अघि बढाउने निश्चित भएको बताउनुभयो । उद्योग सञ्चालनमा आएपछि तीन हजारभन्दा बढीलाई रोजगारी पाउने उहाँको भनाइ छ ।
बनेपाको विकासका लागि पुण्यमाता खोला करिडोर र पाँचखालमा विशेष आर्थिक क्षेत्र(सेज)का लागि कार्यक्रम गर्ने गरी काम अगाडि बढिरहेकोसमेत मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद वसुन्धरा हुमागाईले प्रदेश राजधानीका विषयमा छिट्टै टुङ्गो लाग्ने र त्यसको उपयुक्त ठाउँ काभ्रेपलाञ्चोक नै भएको निष्कर्षसमेत रहेको बताउनुभयो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको अवसर पारेर बनेपाको गोदामचोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलासहितको महोत्सव शुरु भएको क्लबका अध्यक्ष महेश कर्माचार्यले बताउनुभयो ।

मेलामा कृषि, घरेलु, सामग्रीलगायत १०० भन्दाबढी व्यापारिक कक्ष रहने र बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानका साथै प्रत्येक दिन राष्ट्रियस्तरको कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको र मेला ११ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
-रासस

प्रतिक्रिया