थारु कल्याणकारिणीसभाको २२ बुँदे घोषणापत्र सार्वजनिक

admin

काठमाडौँ, ११ असोज : थारु कल्याणकारिणीसभाले आफ्नो भर्खरै सम्पन्न २२औँ राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । सभाले आज पत्रकार सम्मेलन गरी यही असोज ७, ८ र ९ गते काठमाडौँमा सम्पन्न भेलाले पारित गरेको काठमाडौँ घोषणापत्र सार्वजनिक गरेको हो ।सम्मेलनमा सभाका अध्यक्ष कर्णलाल चौधरीले वर्तमान संविधानले थारु तथा चौधरी समुदायका माग सम्बोधन नगरेको बताउनुभयो ।

“थारु कल्याणकारिणीसभाको स्थापना थारु समुदायका राजनीतिक माग सम्बोधन गर्नका लागि घएको थियो तर राज्य अहिलेसम्म थारुका माग सम्बोधन गर्न गम्भीर देखिएको छैन”, उहाँले भन्नुभयो । टीकापुर घटनालाई राजनीतिक तवरबाट सम्बोधन गर्नुपर्नेमा अध्यक्ष चौधरीले जोड दिनुभयो । घोषणापत्रमा टीकापुर घटनालाई राजनीतिक कोणबाट सम्बोधन गर्न पहल गर्ने, थरुहट, थारुवान संयुक्त सङ्घर्ष समितिसँग सरकारले गरेको सम्झौतालाई पालना गर्न लगाउने, पहिचानका पाँच र सामथ्र्यका चार आधारमा तराईमा तीन प्रदेश हुनुपर्ने, रेशम चौधरीको रिहाइका लागि सरकारसँग वार्ता गर्ने, टीकापुर घटनाका बारेमा तयार पारिएका प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने लगायतका बुँदा समावेश गरिएको छ ।

‘स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ’
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको रकम राष्ट्रियकरण गर्न माग गरेको छ । अभियानका अध्यक्ष स्वागत नेपालले आज पत्रकार सम्मेलन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण नगरे कडा आन्दोलन गर्ने बताउनुभयो । “राज्यकोतर्फबाट राजनीतिककर्मीले प्राप्त गरेको सेवा सुविधाका नामका सम्पूर्ण रकम फिर्ता गरी राज्यकोषमा दाखिला गर्न माग गर्दछु”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले स्रोत नखुलेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरे मुलुकको १० वर्षको बजेट बन्ने बताउनुभयो । “सरकारले हाम्रा माग सम्बोधन गरेन भने हामी सामाजिक आन्दोलनका लागि आग्रह गर्ने छौँ”, उहाँले भन्नुभयो ।
-रासस

प्रतिक्रिया