बालबालिकको पहिलो पाठशाला परिवार : मन्त्री गुरुङ

admin

कास्की, १३ असोज: गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले बालबालिकाको पहिलो पाठशाला परिवार भएकाले घरमै राम्रो व्यवहार र संस्कार सिकाउनुपर्नेमा जोड दिनुभएको छ । देशभरका सामुदायिक विद्यालयमध्येबाट प्रथम भई विसं २०७५ को राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको शीतलादेवी सामुदायिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले विद्यालयका गुरुलाई जिम्मा लगाएर मात्र बालबालिकाको सिकाइ राम्रो नहुने बताउनुभयो ।

विद्यालय दुई पटकसम्म देशभर सर्वोत्कृष्ट भएर पुरस्कार पाउनु विद्यालय, समुदाय तथा लगनशील विद्यार्थीको योगदानबाट मात्र सम्भव भएको धारणा राख्दै उहाँले यस प्रतिष्ठा र ख्यातिलाई कायमै राखिराख्न आग्रहसमेत गर्नुभयो । विद्यालय विसं २०७३ को सरकारी मूल्याङ्कनमा पनि सामुदायिक विद्यालयमा नेपाल प्रथम भएको थियो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्रीले सरकारले शिक्षक दरबन्दी मिलान गर्दा विद्यार्थी सङ्ख्या भएका र शिक्षामा योगदान पु¥याएका विद्यालयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

विद्यालयले ३९औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कार २०७५ बाट सम्मानित भएको अवसरमा अभिभावक, विद्यार्थी, शिक्षक, आमासमूह तथा स्थानीयले खुशियालीमा विद्यालय हाताभित्र प्रभातफेरी गरेका थिए । कार्यक्रममा एकापसमा शुभकामना तथा बधाई साटासाट गरेर आगामी दिनमा पनि विद्यालयको शैक्षिक प्रगतिको कामना गरिएको थियो । विसं १९८८ मा शिक्षा पाठशालाका रुपमा स्थापना भएको विद्यालयमा हाल ८२५ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया