वन व्यवस्थापनसम्बन्धी नीति चाँडै लागू हुन्छ : मन्त्री लम्साल

admin

नवलपरासी, १३ असोज : गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले वन व्यवस्थापनसम्बन्धी नीति निर्माण गरी चाँडै लागू गर्ने बताउनुभएको छ । पूर्वी नवलपरासीको कावासोती–२ स्थित नवदुर्गा सामुदायिक वनको आज अवलोकन गर्दै मन्त्री लम्सालले हरेक सामुदायिक वनसहित राष्ट्रिय वनलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

अझै पनि काठ विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको बताउँदै मन्त्री लम्सालले वनलाई व्यवस्थित गर्न सकेमा नेपाल काठमा आत्मनिर्भर रही विदेशमा समेत निर्यात गर्न सक्षम हुने बताउनुभयो ।

प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले उपभोक्ताको पहलमा नै वन संरक्षण गर्न सकिने भएकाले भावी सन्ततिका लागिसमेत वन संरक्षण आवश्यक भएको बताउनुभयो । नवदुर्गा सामुदायिक उपभोक्ता समितिका सदस्यले वनबाटै काठको सहज आपूर्ति भएको बताउनुभयो ।
-रासस

प्रतिक्रिया