जनस्वास्थ्य सङ्घको अध्यक्षमा भट्ट निर्वाचित

रिता घिसिंग

काठमाडौँ, १४ असोज : नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक)समूहका श्रीकृष्ण भट्ट निर्वाचित हुनुभएको छ ।

भट्ट ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । काठमाडाँैसहित सातै प्रदेशको राजधानीमा शनिबार सम्पन्न निर्वाचनमा भट्टका निकटतम् प्रतिद्वन्द्वी नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका अध्यक्ष डा मोहनकृष्ण सापकोटाले ५२७ मत प्राप्त गर्नुभएको थियो ।
हाल सङ्घअन्तर्गत करीब एक हजार ६०० सदस्य रहेकामा एक हजार ४९० मत खसेको बताइएको छ ।

यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तर्फबाट क्रमशः कृष्णमान शाक्य, महेश्वर श्रेष्ठ, विनोद जोशी र सञ्जीवकुमार साह विजयी हुनुभएको छ । सचिव पदमा भने नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका दीपेन्द्र खड्का विजयी हुनुभएको छ । सङ्घको कार्यसमितिको १५ पदमा निर्वाचन भएको थियो । निर्वाचनमा सदस्य पदमा रविकान्त मिश्र, कमल रानाभाट, निधुराम दङ्गाल, राजनबाबु सिलवाल, कैलाश श्रेष्ठ, रामचन्द्र सिन्हा, प्रजिता माली, रोशन लामा र विमला भट्ट विजयी हुनुभएको छ ।

हाल देशभर १६ शिक्षण संस्थामा जनस्वास्थ्य विषयको अध्ययन हुन्छ । वर्षेनी एक हजारको हाराहारीमा स्नातक तह उत्तीर्ण हुने गर्दछन् ।
–रासस

प्रतिक्रिया