विद्युत् आएपछि खुशी सुनसरीका बासिन्दा

रिता घिसिंग

इनरुवा, १५ असोज : सुनसरी हरिनगर गाउँपालिका– ५ का ६० वर्षीय मधुसूदन मण्डलले अहिलेसम्म पनि आफ्नो घरमा विद्युत्को चिम बाल्नु भएको थिएन । उहाँलाई अरु गाउँमा बिजुली बलेको हेर्दा आफ्नो गाउँमा पनि आउँछ भने आशा थिएन तर उहाँको बुढेसकालमा विद्युत बाल्ने रहर पूरा भएको छ ।

साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यस निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, उपेन्द्र यादव, जगदीशप्रसाद कुसियतलगायत नेता त्यसै क्षेत्रबाट विजयी भएर विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको भए पनि स्थानीयवासी बिजुलीबाट वञ्चित हुँदै आएका थिए ।

अब त्यस क्षेत्रका बासिन्दा त्यस समस्याबाट मुक्त हुन थालेको स्थानीयवासी दौलतकुमार मण्डलको भनाइ छ । स्थानीयवासी खुशीलाल मण्डल पनि आफूले जन्मेदेखि नदेखेको बिजुली बाल्न पाउँदा खुशी हुनुहुन्छ ।

उहाँहरुजस्तै १५० घरपरिवारको अवस्था उस्तै थियो । विद्युत् अभावका कारण उनीहरु अंँध्यारोमा पुल्टी बालेर बस्दै आएकामा अब विद्युत् आएपछि खुशी भएका छन् । हरिनगर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको पहल र प्रयासमा सो क्षेत्रमा विद्युत् सेवा शुरु भएको छ । विद्युत् आएपछि आफूहरुलाई सिंचाइ गर्न, खेतीपाती गर्न, कलकारखाना सञ्चालन गर्न सहज हुने स्थानीयवासीको भनाइ छ ।

प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले आफ्नो पहिलो प्राथमिकता नै घरघरमा विद्युत् पु¥याउने भएको बताउँदै विद्युत् चुहावट नगर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । उहाँले ट्रान्सफर्मरमा केही समस्या आए दिन तयार रहेको बताउँदै विद्युत् चुहावट गरे आफूलाई सह्य नहुने स्पष्ट गर्नुभयो । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आफ्नो लक्ष्य नै अँध्यारामा रहेका जनतालाई उज्यालो प्रदान गर्ने भएको बताउनुभयो ।
–रासस

प्रतिक्रिया