महोत्तरी, १५ असोज : मुलुकलाई २०७६ सालभित्र साक्षर घोषणा गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ । सोमबार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ४ र ५ लाई विद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । अनिर्वाय तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ असोज ३ गतेको दिन राष्ट्रपतिबाट पारित गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले ऐनमा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य तथा निःशुल्क शिक्षाका रुपमा दिइने सरकारी तयारी रहेको बताउनुभयो ।
सरकारले अनुगमनका क्रममा देशभरिमा तीन लाख १३ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजानिक गरेकामा यस वर्ष पहिलो चरणमा दुई लाख ५३ हजार र दोस्रो चरणमा एक लाख ५९ हजार बालबालिका भर्नाको तयारीमा रहेको मन्त्री पोखरेलले बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अभिभावक तथा शिक्षकले समेत जिम्मेवार हुनुपर्नेमा मन्त्री पोख्रेलले जोड दिनुभयो । २०८५ सालसम्ममा शिक्षा नलिनेले बैंकमा खाता खोल्न नपाउने जस्ता नियमावली पनि ऐनमा समावेश गरिएको बताउनुभयो ।
राष्ट्रिय शिक्षा अभियानअन्तर्गत सामुदायिक विद्यालयलाई परिवर्तन गर्ने, विद्यालयलाई हरित शैक्षिक संस्था बनाउने, प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिन, २०७६ सालसम्ममा नेपाललाई साक्षर नेपाल बनाउने र विश्वविद्यालयलाई ज्ञानमा आधारित समाज निर्माण गर्ने विश्वविद्यालय बनाउने भनी पाँच बुँदा रहेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताउनुभयो ।
सो कार्यक्रमबीच नगरप्रमुख अशोक मण्डलले विद्यार्थी भर्ना अभियान सुनिश्चित भएको जिल्लाकै मटिहानी पछिको दोस्रो वडाका रुपमा घोषणा गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । गैरआवासीय संस्था फिनल्याण्डको सहयोगमा रामगोपालपुर नगरपालिका–४ र ५ लाई विद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।
-रासस