काठमाडौँ, १५ असोज: मेलम्चीको दोस्रो चरण याङ्री र लार्केको सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन दुई महीनामा तयार हुने भएको छ । याङ्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको लक्ष्य छ । मेलम्ची खोलाको मुहानस्थल अम्बाथानबाट याङ्री आठ र लार्के दुई किमी टाढा रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले राससलाई जानकारी दिनुभयो ।
“दुई महिनाभित्रमा प्रतिवेदन तयार गरी सुरुङमार्ग निर्माणको ठेक्का गर्ने तयारीमा छौँ, चार वर्षमा काम सकी सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी झार्ने योजना छ, यसका लागि रु २० अर्ब लाग्ने प्रारम्भिक अनुमान छ, मेलम्चीको पहिलो चरणमा आएका समस्याबाट पाठ सिकी काम गर्ने तयारी भएकाले काम छिटो हुनेछ”, उहाँले भन्नुभयो ।
सुरुङमार्ग निर्माण गरिने भाग लाङ्टाङ राष्ट्रिय निकुञ्जको वन क्षेत्र भएकाले पहिले जस्तो काममा बाधा नआउने आयोजनाले जनाएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पनि दुई महिनामा तयार हुने जनाइएको छ । दुवै प्रतिवेदन निर्माणको काम परामर्शदाता कम्पनी इप्तिसाले गरिरहेको छ । परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला सम्पन्न गरिएको कार्यकारी निर्देशक कँडेलले जानकारी दिनुभयो ।
समितिले सुन्दरीजलमा प्रशोधन केन्द्र निर्माण गर्नेसम्मको काम गर्नेछ । सुन्दरीजलबाट उपत्यकामा पानी वितरणको काम भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले नै गर्ने जनाइएको छ । मेलम्ची पहिलो चरणको काम दुई महीनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानीमा वितरणको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
-रासस