नक्कली कागजात तयार गर्ने लेखापढी व्यवसायी पक्राउ

admin

राजविराज, १५ असोज : सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गर्ने एक जना लेखापढी व्यवसायीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा सप्तरी कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१ वर्षीय मोहम्मद सल्लम शेखलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

मालपोत कार्यालयको छाप घरमै राखी विभिन्न किसिमका सरकारी कागजपत्र कीर्ते गर्दै गरेको अवस्थामा उनलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । प्रहरी नायब उपरीक्षक रिमालका अनुसार घर खानतलासी गर्ने क्रममा विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकताका प्रतिलिपि, सक्कल जन्मदर्ता प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रजिस्ट्रेसन लिखत कागज, मतदाता नामावली र फोटो सहितको परिचयपत्र, नागरिकताको अनुसूची फारम, विवाहदर्ताको प्रमाणपत्र, मृत्युदर्ताको प्रमाणपत्र, बसाइँसराइ दर्ताको प्रमाणपत्रलगायत प्याडहरु बरामद गरिएको छ । यता पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक रिमालले भन्नुभयो ।

-रासस

प्रतिक्रिया