सुर्खेत, १५ असोज: कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले स्पष्ट कार्ययोजना बनाएर बजेट कार्यान्वयन गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सांसदले पहिलो चौमासिक बित्नै लाग्दासमेत बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै परिणाममुखी कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवसहित सात वटै मन्त्रालयका सचिवको सहभागिता थियो । समितिको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको हालसम्मको अवस्था, आ–आफ्ना मन्त्रालयका कार्ययोजनासहित उपस्थित हुन सचिवहरुलाई निर्देशन दिएको थियो । बैठकमा सचिवहरुले वार्षिक कार्यक्रमका साथै हालसम्मको कार्य प्रगति प्रस्तुत गरेका थिए ।
नेकपाका प्रदेशसभा सदस्य यामलाल कँडेलले पहिलो चौमासिक सकिन लाग्दासमेत बजेट खर्च गर्ने कार्ययोजना किन बनाउन सक्नुभएन ? भनी प्रश्न गर्नुभयो । “संरचना छैन्, जनशक्ति छैन भनेर अल्झिन पाइँदैन”, उहाँले भन्नुभयो, “तीनै समस्याका बीच पनि बजेट गाउँ–गाउँमा पु¥याउने उपाय के हुनसक्छन्, मन्त्रालयस्तरबाट गहन अध्ययन गर्नुस् ।” कर्णाली प्रदेश सरकारले गत असार १ गते २८ अर्ब २८ करोड २८ लाख बराबरको बजेट सार्वजनिक गरेको थियो ।
काङ्गे्रस प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेश सरकार बजेट कार्यान्वयनका सवालमा गम्भीर नभएको आरोप लगाउँदै “गाउँ जाँदा जनताले सोधेर हैरान गर्न थाले, सरकारका मन्त्री र सचिवहरुमा यसतर्फ कुनै तत्परता देखिएन” भन्नुभयो । अर्का सदस्य दानसिं परियारले डिभिजन कार्यालय स्थापना गर्ने निहुँमा प्रदेश सरकारले हचुवाका भरमा कतिपय महत्वपूर्ण जिल्लास्तरीय संरचनाहरु हटाउन थालिएको भन्दै आपत्ति जनाउनुभयो । समितिका अध्यक्ष अम्मरबहादुर थापाले जागिरे मानसिकताबाट माथि उठेर कर्णालीको विकासका लागि अझ बढी जिम्मेवार हुन सचिवहरुलाई आग्रह गर्नुभयो । बैठकले सचिवहरुलाई तत्काल आ–आफ्नो मन्त्रालयको बजेट खर्च गर्ने कार्यविधि बनाउन निर्देशन दिएको छ ।
-रासस