सहमतिमा नै प्रदेशको नाम र राजधानी तोकिएको छ: अध्यक्ष थापा

admin

बाजुरा, १७ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाले प्रदेशको नाम र राजधानी सहमतिमा नै तोकिएको बताउनुभएको छ । दशँै तिहारका अवसर पारेर नेपाल निजामती कर्मचारी सङ्गठन बाजुराले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी र समुदायसँगको बृहत् छलफलपछि नाम र राजधानी तोकिएकाले विरोध गर्नुको कुनै अर्थ छैन ।”

अध्यक्ष थापाले पहिले समर्थन गर्ने, पछि विरोध गर्ने परिपार्टीको अन्त्य हुनु आवश्यक छ भन्दै सबैको मत बुझेर नै नाम र राजधानी तोकिएको बताउनुभयो । “उपयुक्त विकल्प पनि त्यही थियो, बजारमा नारा जुलुस गर्नु कसैको हितमा छैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाले दुई ठूला पार्टी एक ठाउँमा आउनु नै महान् काम भएकाले केही समयसम्म सामान्य विमति रहनुलाई ठूलो पहाड बनाउन नहुने उल्लेख गर्दै पार्टी सङ्गठनको निर्णय सबैको हितमा गरिएकाले त्यसलाई सबैले मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो । निर्मला पन्तको हत्याको विषयमा छानबिन भइरहेकाले बलात्कारी हत्याराले उन्मुक्ति नपाउने बताउँदै उहाँले राज्यको संयन्त्रलाई नै आशङ्कामा राखेर विरोध गर्नु र मिलेको समाजलाई थप त्रसित बनाउनु राम्रो होइन भन्नुभयो ।
-रासस

प्रतिक्रिया