श्रमदानबाट पदमार्ग निर्माण

admin

म्याग्दी, १८ असोज: म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । हिलापोखरी टोल सुधार समितिको सक्रियतामा उनीहरूले धौलागिरि चक्रीय पदमार्गअन्तर्गत ७ नं वडामा पर्ने ताकमदेखि हिलापोखरी र खोरवाङ हुँदै ४ नं वडाको खारा जोड्ने गरी पदमार्ग निर्माण गरेका हुन् ।

उनासी घरधुरीले तीन दिनसम्म श्रमदान गरेर पाँच किलोमिटरभन्दा बढी पदमार्ग निर्माण गरेको समितिका अध्यक्ष रामजी मल्लले जानकारी दिनुभयो । धवलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटक र स्थानीयबासीको सुविधाका लागि पदमार्ग निर्माण गरिएको उहाँको भनाइ थियो । स्थानीयवासीले घाँसदाउरा र खेतीबाली लगाउन आवतजावत गर्ने परम्परागत घोडेटो बाटोलाई फराकिलो बनाउने, झाडी फाँडेर सरसफाइ गर्ने, पहिरो पन्छाउने, सिँढी बनाउने गरिएको छ । यसबाट खिवाङ, हिलापोखरी, मुदी, बगर, खारा, खाम्ला, बाँसबोट, चुचुङ, नाउराका बासिन्दालाई सुविधा पुगेको छ ।

यो पदमार्ग धौलागिरि चक्रीय पदमार्गको ताकम, मुना, मुदी र बिम कल्लेनी बाँसबोट खण्डको विकल्प भएको हिलापोखरीका याम पुनले बताउनुभयो । अन्य दुईभन्दा यो नयाँ पदमार्ग छोटो छ । पर्यटकको चार समूह यही पदमार्ग भएर धवलागिरि आधार शिविरतर्फ गएका टोल सुधार समितिका अध्यक्ष मल्लले बताउनुभयो ।

प्रतिक्रिया