बेनी–गलेश्वर सडक कालोपत्रे हुँदै

admin

म्याग्दी, १८ असोज: उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको प्रवेश विन्दुमा बेनी–गलेश्वर खण्डको सडक कालोपत्रे योजनाले पूर्णता पाउने भएको छ । तीन किलोमिटर दूरीको उक्त सडक कालोपत्रे १८ महीनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७२ मा शुरु भएको योजनाबाट २०७४ मा एक किलोमिटर ६०० मिटर मात्र कालोपत्रे गरिएको थियो ।

एक लेनको सम्झौता भएको सो योजनामा सरकारले कोरला नाका खोल्ने निर्णय गरेपछि दुई लेनको बनाउनुपर्दा कालोपत्रेको दूरी घटेको थियो । कालीपुलदेखि गलेश्वरसम्म बाँकी रहेको एक किलोमिटर ९०० मिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कार्यालयले पुनः ठेक्कामार्फत काम शुरु गरेको जनाएको छ ।

गत असारमा रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरिएको गौरी–पार्वती–रुपल जेभीले गलेश्वरको पहिरो क्षेत्रमा पर्खाल निर्माणको काम शुरु गरेको छ । गलेश्वर बसपार्क क्षेत्रमा नाली निर्माण भइसकेकोे निर्माण कम्पनीका प्रतिनिधि बिपिन खड्काले बताउनुभयो । आगामी १० महीनाभित्र कालोपत्रेको काम सक्ने सम्झौता गरिएको छ ।

सडक फराकिलोे, पर्खाल तथा नाली निर्माण, दुई लेन कालोपत्रे गरिने भएको छ । नौ मिटर फराकिलो हुने सडकमा एक मिटर नाली र सात मिटर कालोपत्रे गरिने उक्त कार्यालयले जनाएको छ । सडक कालोपत्रे भएपछि प्रशिद्ध धार्मिकस्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जान आउन प्रयोग हुने बेनी गलेश्वर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा असहज यात्रा गर्नुपर्ने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
-रासस

प्रतिक्रिया