काठमाडौँ, १८ असोज: सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रतिनिधसभा विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण र हुलाक सेवालाई प्रभावकारी, जनमुखी र जनताको भरपर्दो संस्थाको रुपमा विकास गर्न निर्देशन दिएको छ । त्यसैगरी समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त महाप्रबन्धक पदको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न पनि निर्देशन दिएको छ ।
बैठकमा सांसद टेकबहादुर बस्नेत, गणेश पहाडी, रामबहादुर विष्ट, कमला रोका, इन्दु शर्मा, आशाकुमारी विक, मीनाकुमारी सुब्बा, रङ्गमती शाही, जिप छिरिङ लामा, यज्ञराज सुनुवार र महेन्द्रराय यादवले आआफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त हुनुभएका नवनियुक्त अध्यक्ष दीगम्बर झाको नियुुक्ति प्रकरण, श्रमजीवी पत्रकार ऐन लागू, हुलाक सेवाको वैज्ञानिक व्यवस्थापन र बनेपास्थित सूचना प्रविधि पार्कको सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हालसम्म २४० टावर निर्माण भइसकेको, १६ हजार अश्लील तथा छाडा अनलाइन साइड बन्द गरिएको, श्रमजीवी पत्रकारको तलब वृद्धि गरिएको समितिलाई जानकारी गराउनुभयो । उहाँले आगामी दुई वर्षमा सबै स्थानीय तहमा दूरसञ्चार तथा द्रुत गतिको इन्टरनेट सेवा पु¥याउने र आउँदो दुई महिनाभित्र पत्रकार वृत्तिकोषमा रु पाँच करोड रकम जम्मा गरिसक्ने बताउनुभयो । समितिका सभापति कल्याणी कुमारीको अध्यक्षतामा समितिको बैठक बसेको थियो । ।
-रासस