डिप्लोमा इञ्जिनीयर्स काउन्सिल ऐन तत्कालै आउछ : : उपप्रधानमन्त्री पोखरेल

admin

काठमाडौँ, १८ असोज : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्षाैंदेखि अलपत्र डिप्लोमा इञ्जिनीयर्स काउन्सिलसम्बन्धी विधेयक छिट्टै संसद्मा पेश गरिने बताउनुभएको छ । डिप्लोमा इञ्जिनीयर्स एशोसिएशन (डीन)को आयोजनामा आजदेखि शुरु भएको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले डिप्लोमा इञ्जिनीयरको थप व्यावसायिकता अभिवृद्धिका लागि काउन्सिल स्थापना गर्न लागेको बताउनुभयो ।

उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै भन्नुभयो, “शिक्षा विकासको ‘की’ हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा ‘मास्टर की’ हो ।” कार्यक्रममा डीनका अध्यक्ष कामेश्वरप्रसाद सिंहले आगामी पाँच वर्षभित्र पाँच हजार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले लिएको लक्ष्यप्राप्तिका लागि नै सम्मेलन केन्द्रित हुने जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा प्रस्तुत गरिने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्यपत्र र त्यसमाथिको छलफलपछि सार्वजनिक गरिने काठमाडौँ घोषणापत्रले मुलुकको मानवीय स्रोतको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष सिंहको जिकिर थियो ।

कार्यक्रममा कोलम्बो प्लान स्टाफ कलेज मनिलाका महानिर्देशक डा रामहरि लामिछाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष डा कुलबहादुर बस्नेतलगायतले प्राविधिक तथा व्यावसायिक शिक्षाको समयानुकूल विकास हुन सके मात्र मुलुकले लिएको समृद्धिको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

डीन, कोलम्बो प्लान स्टाफ कलेज र सिटिइभिटीको आयोजनामा शुरु भएको ‘इनोभेसन्स इन टिभिइटी फर सोसिओ इकोनोमिक डेभलपमेण्ट’ विषयको सम्मेलन दुई दिनसम्म चल्ने डीनका महासचिव जीवन घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा ३० हजारभन्दा बढी सदस्य रहेको डीनलाई कोलम्बो प्लान अफ स्टाफ कलेजको कार्यकारी समितिले मानार्थ सदस्यता प्रदान गरेको छ । सम्मेलनमा नेपालका सातै प्रदेशका ५०० प्रतिनिधि तथा भारत, चीन, बङ्गलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड, मलेसिया, फिजीलगायत मुलुकका प्रतिनिधिको सहभागिता छ ।
-रासस

प्रतिक्रिया