पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

admin

क्वालालमपुर, १८ असोज: विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो ।  पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरले करोडौ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएको छ ।

अधिकारीहरूले दिएको जानकारी अनुसार उहाँले आरोपहरूको खण्डन गर्नुभएको छ । उहाँलाई लगाइएको आरोपहरू पुष्टी भएमा उहाँलाई आजीवन कारावास सजाय हुने मलेसियामा कानूनी व्यवस्था छ । निकै महङ्गो सामानहरू किन्ने र उपयोग गर्ने बानी भएको मानिने ६६ बर्षिया मनसुरले महङ्गा गहना तथा हाते झोला आदि किन्ने गरेको चर्चा हुने गरेको थियो । उहाँका श्रीमान् नाजिबलाई पनि अनियमितता सम्वन्धी दुई दर्जन भन्दा बढी आरोप लगाइएको छ ।

शक्तिमा रहेको नौ बर्षे अवधिमा उहाँले राज्यशक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको अधिकारीहरूले जनाएका छन् । नाजिबले भ्रष्टाचार गरेको आरोपलाई मुख्य चुनावी मुद्दा बनाउनु भएका पुर्वप्रधानमन्त्री महाथिर मोहमदले सरकारको नेतृत्व गरेपछि पूर्ववर्ती सरकारका उच्चअधिकारीहरूमाथि छानविन थालिएको हो । राजनीतिबाट सन्यास लिएका ९३ बर्षीय महाथिरले देशलाई गलतबाटोबाट फर्काउनका लागि आफु फेरि राजनीतिमा फर्किनु परेको बताउनु भएको थियो । उहाँको यही आह्वानलाई समर्थन गर्दै मलेसियाका मतदाताले महाथिरलाई अत्यधिक मतका साथ विजयी गराएपछि उहाँले सरकार बनाउनु भएको हो ।
-रासस÷एएफपी

प्रतिक्रिया