सङ्खुवासभा, १९ असोज : विजयादशमी नजिकिएसँगै वसन्तपुर–चैनपुर सडक खण्ड निर्माणले गति लिएको छ । अहिले जिल्ला प्रवेश गर्ने टुटेदेउरालीदेखि मुढेसम्मको सडक हिलाम्मे छ । सडकमा तीन फिटभन्दा बढी खाल्डामा गाडी भासिएपछि निकाल्न घण्टाँै लाग्छ । करीब १३ किमी कालोपत्रे सडक हिलाम्मे भएपछि यात्रु जोखिमको यात्रा गर्न बाध्य छन् ।
चुनावका बेला यी सडक बाह्रै महीना सञ्चालन गर्ने मुख्य ‘एजेन्डा’ लिएर निर्वाचनमा होमिएकाले चासो नदिएको स्थानीयबासीको गुनासो आएपछि जनप्रतिनिधिले चासो दिन थालेका छन् । प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले सडक सहज नहुनुको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने भन्दै घटस्थापनाको अघिल्लो दिनसम्म टुटेदेउरालीदेखि मुढेसम्म बसेर सडक निर्माण गराउने प्रतिबद्धता जनाउनुभयो ।
निर्माण पूरा नभएसम्म आफू सो क्षेत्रमा रहने उहाँले बताउनुभयो । धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमी सडकको दुदर्शाले सबैलाई दुःख भएको बताउनुभयो । धुपुका धर्म चापागाईंले भन्नुभयो, “बाटोको अवस्था खराब हुनुमा जनप्रतिनिधि पनि दोषी छन् ।”
-रासस